युएईसँगको तीन एकदिसीय श्रृंखलाको उपाधि नेपाललाई
२ मंसिर, काठमाडौँ । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले युएईसँगको तीन एकदिवसीय श्रृंखलाको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा भएको अन्तिम तथा तेस्रो खेलमा नेपालले पाहुना टोली युएइलाई ६ विकेटले हराउँदै श्रृंखला २–१ ले पक्षमा पारेको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४० दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर श्रृंखलाको उपाधि घरमै राखेको हो । यसै प्रतियोगिताबाट कप्तानको जिम्मेवारी पाएका रोहित पौडेलले डेब्यू प्रतियोगितामा नै उपाधि नेपाली टोलीलाई दिलाउन सफल पनि भएका छन् ।
नेपालको जितमा आकर्षक ब्याटिङ गरेका आसिफ शेख १ सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनमा आउट भएका थिए । आसिफ र ज्ञानेन्द्रले करियरकै पाँचौं अर्धशतकसमेत पूरा गरेका छन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । ३१ दशमलब १ ओभरमा ९३÷९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले ८३ रनको साझेदारी गर्दा निर्धारित ५० ओभरमा युएईले १ सय ७६ रनको योगफल बनाएको थियो । यूएईको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २÷२ विकेट निकाल्दा सोमपाल कामी र ललित राजवंशीको नाममा १÷१ विकेट रह्यो ।
यस जित सँगै विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोर्णात्मक श्रृंखलाको तयारीको रुपमा हेरिएको श्रृंखलाबाट नेपाली टोलीलाई मनोबल मिलेको छ । नवनियुक्त कप्तान रोहितकुमार पौडेललाई पनि सुखद् अनुभव मिलेको छ ।