माल्दिभ्सबिरुद्ध नेपालको सुखद् शुरुवात

स्वर्णिम खबर
९ श्रावण २०७९, सोमबार १९:३२

९ श्रावण, हेटौँडा । भारतमा सोमवारबाट शुरु भएको साफ यु–२० साफ च्याम्प्यिनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।
भवुनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्सबिरुद्ध शानदार प्रदर्शन गर्दै सुखद् शुरुवात गरेको हो । खेलको शुरुवातबाट नै दबाबमा राखेर खेलेको नेपालले अधिकांस समय बलमा पकड जमाएपनि गोलको खाता भने ४२ औं मिनेटमा मात्र लिएको थियो । नेपालका दीपेश गुरुङले ४२ औं मिनेटमा माल्दिभ्सका गोलकिपरबाट फर्किएको रिबाउन्डमा १८ यार्ड बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । शुरुवातमा अग्रपंक्तिमा तालमेल अभाव देखिएको खेलमा आधा घण्टाको खेलपछि नेपाली टोलीले दबाब राखेको थियो ।
पहिलो हाफको अग्रतापछि दोस्रो हाफमा उच्च मनोबलका साथ खेलेको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । सोही क्रममा ५८ औं मिनेटमा सुगम सुवालले नेपालको अग्रता दोब्बर पारे । उनले कृतिसरन्त छुन्जुले मैदानको मध्यभागबाट निकालेको बललाई गोलमा परिणत गरेका थिए । ६२ औं मिनेटमा नेपालका कप्तान आयुस घलानलाई माल्दिभ्सका रक्षकले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा कृतिसरत्न छुन्जुले बललाई सहजै जाली चुमाउँदै नेपालको अग्रतालाई ३–० मा पु¥याएका थिए । यस्तै, इन्जुरी समयमा मनग्य नकर्मीले गोल गरेसँगै नेपालले ४–० को जित निश्चित गरेको हो ।
यससँगै नेपालले प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । शुरुवाती दुई संस्करणको च्याम्पियन रहिसकेको नेपालले पछिल्लो संस्करणको उपाधि भारतलाई सुम्पिएको थियो । प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीले अगस्ट पाँचमा उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*