१ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोईन सहित ७ जना पक्राउ
२ असार, काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोईन सहित सात जना महिलालाई पक्राउ गरेको छ ।
बिहीवार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोईनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरुलाई पक्राउ गरेको बताउनु भयो । उहाँले विगतमा पनि लागु औषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जादाँ ५१ केजी हेरोईन फेला परेको बताउनु भयो । उहाँले बरामत गरिएको ५१ केजी हेरोईन अहिलको बजार मूल्य अनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउने स्पष्ट पार्नुभयो । प्रमुख श्रेष्ठले पक्राउ परेका सातैजना दक्षिण अफ्रिकाका महिला नागरिक रहेको बताउनु भयो ।
उहाँका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रमुख श्रेष्ठले प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभूवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिन भित्रमा नियन्त्रणमा लिएको बताउनु भयो ।आइतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनी थाबालाला पक्राउ गरिएको प्रमुख श्रेष्ठले बताउनु भयो । पक्राउ परेकाहरुमध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र ५ जना पहिलोपटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको बताउनु भयो ।