आर्मी बन्यो मकवानपुर गोल्डकप च्याम्पियन

स्वर्णिम खबर
३० जेष्ठ २०७९, सोमबार १९:२३

३० जेठ, हेटौँडा । चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
हेटौंडा ५ क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली बिजय युथ क्लबलाई २–१ ले हराउँदै आर्मीले लगातार दोश्रो पटक मकवानपुर गोल्डकपको उपाधि उचालेको हो । यसअघि गत संस्करणमा पनि बिजय युथलाई नै पराजित गर्दै आर्मीले उपाधि जितेको थियो । आर्मीले खेलको १५ औं मिनेटमा कप्तान भरत खवासको गोलबाट अग्रता लिएको थियो । उनले टेक बहादुर बुढाथोकीको पासमा गोल गरेका हुन् तर त्यसको १० मिनेटपछि नै घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बिजय युथका डोना थापाले गोल गरे । दोस्रो हाफको शुरुमै कमल बहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाएपनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी बिजय युथका कप्तान अशोक बराल घोषित भए । उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट डिफेन्डर आर्मीका बिमल पाण्डे, उत्कष्ट मिडफिल्डर आर्मीकै बिवेक बस्नेत, उत्कृष्ट फरवार्ड आर्मीकै दिनेश हेन्जन र उत्कृष्ट प्रशिक्षक आमीकै नविन न्यौपाने घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरेका छन् ।
उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयामा चित्त बुझाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*