सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छैनः यातायात विभाग
२४ जेठ, हेटौँडा । यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ ।
मंगलवार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताउनु भयो । उहाँले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गरिएअनुसार जडान भए नभएको अनुगमन गर्ने सूचना आएको दाबी गर्नुभयो । महानिर्देशक घिमिरले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गते भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गर्नुभयो । उहाँले विभागले यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालिन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको बताउनु भयो । इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिका अनुसार जसको लागि अनिवार्य गरिएको थियो उनीहरुले जडान गरेको छ वा छैन भन्ने कुरा विभागले अनुगमन गर्ने भनिएको भन्दै महानिर्देशक घिमिरेले साउन १ गते भित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत भएको बताउनु भयो । त्यस्तै उहाँले इम्बोस्ड नम्बर प्लेट जडानको लागि विभागले सम्पूर्ण पूर्वाधार तयारी पारेको जिकिर गर्नुभयो । महानिर्देशक घिमिरेले मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन, उत्पादनको काम र जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।
महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र वागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरिएको बताउनु भयो । उहाँले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको बताउनु भयो । गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको घिमिरेको भनाई छ । उहाँका अनुसार अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यकअनुसार विभागले पूर्वाधार तयार गरिरहेको बताउनु भयो । महानिर्देशक घिमिरेले गण्डकी र वागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको दाबी गर्नुभयो ।