बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

स्वर्णिम खबर
१६ जेष्ठ २०७९, सोमबार १७:५२

१६ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख यादबचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ । जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत् विपन्न नागरिकलाई क्यान्सर, हृदयघात जस्ता रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने प्रदेश प्रमुख शर्माले बताउनुभयो । मृगौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । हेटौंडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्नती गरी धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गरिने प्रदेश प्रमुख शर्माले बताउनुभयो ।
प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तह संघको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने, दलित, अपाङ्ग, सीमान्तकृत एवम् विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गरिने बताउनुभयो । सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ । प्रदेश प्रमुख शर्माले प्रदेशभित्र संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित संचालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताउनुभयो ।
संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सम्भाव्यता र क्षमताको आधारमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्रामको स्थापना र विस्तार गरी राष्ट्रिय उत्पादन अभिवृद्धि गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । चितवन, मकवानपुर र सिन्धुलीमा नयाँ औद्योगिक क्षेत्रको निर्माणको कार्य सुरू गरिने तथा प्रदेशभित्रका औद्योगिक क्षेत्रमा रहेका रुग्ण उद्योगहरुको सञ्चालनका लागि संघीय सरकारसंग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापन गर्ने भएको छ । पशु वीमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने प्रदेश प्रमुख शर्माले बताउनुभयो । प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*