हेटौंडामा गठबन्धनबाट मिना लामा मेयरको उम्मेदवार
१० वैशाख, हेटौँडा । सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा उम्मेदवार हुनुभएको छ ।
उहाँ हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर हुन् । शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बन्नुभएकी लामाले तत्कालिन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गर्नुभएको थियो । यसैबीच मेयर पदको उम्मेदवार बने बित्तिकै उहाँले शनिबार नै उपमेयर पदबाट राजीनामा दिनुभएको छ । उहाँले मेयर हरिबहादुर महत समक्ष राजीनामा दिनुभएको हो । गत चुनावमा लामाले २३ हजार ४ सय ३७ मतसहित चुनाव जित्नु भएको थियो भने माओवादी केन्द्रका बलले १७ हजार ११ मत पाउनुभएको थियो । आगामी वैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले हेटौंडाको मेयर एकीकृत समाजवादी र उपमेयर काँग्रेसले पाउने गरी भागबण्डा गरेको थियो । एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको गत शनिबार बसेको बैठकले हेटौंडाको मेयर पदका लागि उपमेयर लामासहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको थियो ।