चोभार सुख्खा बन्दरगाहले आयात र निर्यातलाई थप सहज बनाउँछः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
२२ चैत्र २०७८, मंगलवार १९:०७

२२ चैत्र, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले काठमाडौं उपत्यकालाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताउनुभएको छ ।
मंगलबार सो बन्दरगाहको उद्घाटन समारोहमा बोल्नु हुँदै प्रधानमन्त्री देउवाले यो सेवा सञ्चालन हुँदा काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुने बताउनुभएको हो । उहाँले उपत्यकाबाट हुने व्यापारलाई सहजीकरण गर्न र व्यापारको लागत घटाउन बन्दरगाहले सहयोग गर्ने बताउनुभयो । त्यसैगरी वस्तु तथा सेवाको आयात र निर्यातलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सुख्खा बन्दरगाहले भूमिका खेल्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरुको आवश्यकता पर्ने बताउनुभयो । उहाँले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताउनु भयो । उहाँले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक बिलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नेपालमा रेल आवश्यक भएपनि बनाउन धेरै खर्च लाग्ने बताउनुभयो । कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा ग्राण्टमा पाए रेल ल्याउन सकिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*