सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहकः प्रदेश प्रमुख शर्मा

स्वर्णिम खबर
१९ चैत्र २०७८, शनिबार १७:२०

१९ चैत्र, हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सञ्चार माध्यमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताउनुभएको छ ।
आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने प्रदेश प्रमुख शर्माले जोड दिनुभयो । स्टेट भिजन प्रा.लि.द्वारा सञ्चालित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माले जिम्मेवार तथा सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक भएको उल्लेख गर्नुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य शाहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको उहाँले बताउनुभयो । पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउँदै यसको रक्षाका निम्ति पनि पत्रकारहरु उत्तीकै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, राजधानी डेल्ली डटकमका सम्पादक धु्रव लम्साल, नेपाल समाचार पत्रका मकवानपुर संवाददाता रोशन पराजुली, रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज), धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल र विभिन्न छापाखानामा पत्रपत्रिका छपाईको काम गर्दै आएका सोमबहादुर विष्टलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
२०५१ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर आम नागरिकको सूचित हुने अधिकारको निम्ति पुर्याएको योगदानको कदर गर्दै सम्पादक भण्डारीलाई मकवानपुर जागरण अभियानसँगको सहकार्यमा तु खबरले स्थापना गरेको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार २०७८’ प्रदान गरिएको हो । त्यस्तै २०५७ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील सम्पादक लम्साललाई ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार २०७८’, २०६२ सालदेखि पत्रकारितामा क्रियाशील भई हाल अनलाइन पत्रकारको रुपमा स्थापित सम्पादक शिलवाललाई ‘तु खबर अनलाइन पत्रकारिता पुरस्कार २०७८’, २०४८ सालदेखि पत्रकारितामा निरन्तर रुपमा काम गर्दै आएका र हाल रेडियोकर्मीको रुपमा स्थापित दाहाललाई ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८’ र २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पराजुलीलाई ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८’ प्रदान गरिएको हो । त्यस्तै हेटौंडाका विभिन्न छापाखानामा २०४० सालदेखि कार्यरत रहेका विष्टलाई नगदसहित सम्मान गरिएको हो ।


तु खबरका सम्पादक गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार मञ्चका महासचिव विमल थापा, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु, विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*