एमाले र माओवादीको चासो बिआरआईमा

स्वर्णिम खबर
१३ चैत्र २०७८, आईतवार १४:५३

१३ चैत्र, काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।
तीन दिने नेपाल भ्रमण सकेर बेइजिङ फर्किनुअघि यीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टै–छुट्टै भेटेका हुन् । एमाले अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र विदेश विभाग प्रमुख राजन भट्टराईलाई लिएर पुगेका थिए । भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो । बीआरआई अन्तर्गतका आयोजनाहरु सडक, सिंचाई, रेल, जलविद्युत र सीमानाका बनाउने कुराहरुमा छलफल भएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताउनुभयो । भेटमा चिनियाँ विदेशमन्त्री यीले तत्काल गर्नुपर्ने समस्या समाधान र दीर्घकालीन रुपमा बीआरआईमार्फत अघि बढाइएको आयोजनाहरुमा चीन प्रतिवद्ध रहेको जानकारी दिनुभएको पनि विभाग प्रमुख भट्टराईले बताउनु भयो ।


यस्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पनि नेता नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेतलाई लिएर भेटवार्ता गर्न पुगेका थिए । भेटवार्तामा माओवादी केन्द्रले बिआरआई परियोजना लगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिनुपर्ने कुराको चर्चा गरेको नेता बस्नेतले जानकारी दिनुभयो । त्यस्तै दुई देशबिचको व्यापार घाटालाई सन्तुलित बनाउन व्यापार नाकाहरुलाई नियमित गर्न प्रयास बढाउनुपर्ने विषय राखेको उहाँले बताउनुभयो ।
तीन दिनको नेपाल भ्रमण सकाएर विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्कने कार्यतालिका रहेको छ । बीआरआई सम्झौतामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको भएता पनि त्यसअन्तर्गतका एउटा पनि परियोजना अघि बढ्न सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*