प्रदेश सरकारले संघीयताको अनुभुति गर्न सकेनः मन्त्री खनाल

स्वर्णिम खबर
१० चैत्र २०७८, बिहीबार १६:३०

१० चैत्र, हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरीक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभुति गर्न नसकेको बताउनुभएको छ ।
बिहीवार बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले काठमाडौंमा आयोजना गरेको ‘एफ.एम., रेडियो र टेलिभिजन सञ्चालनमा कानूनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकारले बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयन पनि गर्न नसकेको बताउनुभयो । मन्त्री खनालले संघले प्रदेशलाई अधिकार दिन नखोजेर सामन्ती चरित्र देखाएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्व र कर्मचारी सामन्ती चरित्रबाट मुक्त हुन नसकेको भन्दै यसको विरुद्धमा आवाज उठाउनुपर्ने खाँचो रहेको बताउनुभयो ।
मन्त्री खनालले प्रदेश सरकारकै मातहतको सचिव मन्त्रालयमा नहुँदासम्म संघीयता साँचो अर्थमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । संघ मातहतका कर्मचारीले प्रदेशको समस्या बुझ्न नसकेका कारण प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको उहाँले बताउनुभयो । मन्त्री खनालले प्रदेश सरकारले स्थानीय तह कर्मचारी नियमावली र प्रदेश निजामती कर्मचारी ऐन ल्याउने पनि बताउनुभयो ।
उहाँले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनलाई सरोकारवालाको भावना विपरित हुनेगरी संशोधन नगरिने पनि स्पष्ट पार्नुभयो । मन्त्री खनालले सञ्चार रजिष्ट्रारको कार्यालयलाई बलियो बनाइने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*