छुट्टै जासुसी संयन्त्र गठन गर्ने बागमती प्रदेश सरकारको तयारी

स्वर्णिम खबर
८ चैत्र २०७८, मंगलवार १६:३२

८ चैत्र, हेटौँडा । बागमती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ ।
मंगलवार बसेको वाग्मती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने निर्णय गरेको हो । आज बसेको प्रदेशसभाको बैठकमा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रश्ताव गर्नुभएको थियो । कानून मन्त्री खनालको प्रश्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो ।
त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समिति पठाएको छ । त्यस्तै, वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्तावलाई सर्वसम्मत स्वीकृत गरेकोे घोषणा गर्नुभयो । उहाँले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्तावलाई पनि सर्वसम्मत स्वीकृत भएको पनि घोषणा गर्नुभयो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*