काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिनु पर्छः अध्यक्ष ओली

स्वर्णिम खबर
५ चैत्र २०७८, शनिबार १७:३८

५ चैत्र, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिनु भएको छ ।
अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सिमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले काँग्रेसलाई भोट नहाल्ने दावी गर्नु भयो । काँग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताईसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उहाँको तर्क थियो । अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाई दिएको र माधव नेपालहरु अवको निर्वाचन पछि समाप्त हुने बताउनु भयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटकपटक सचेत गराउनु भयो । उहाँले सत्तारुढ दलहरुको निदहराम हुनेगरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताउनु भयो । सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरुलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताउनु भयो । अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मटबाट हराउने उहाँले दोहो¥याउनु भयो ।
अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अव फेरी हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*