सरकार संविधान अनुसार नभएर स्वेच्छाचारी ढंगबाट चल्योः पूर्वमुख्यमन्त्री शाक्य
३० फागुन, हेटौँडा । बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले पार्टी बनाउने बहानामा कार्यकर्तालाई रकम वितरण गरेको आरोप लगाउनुभएको छ ।
पूर्वमुख्यमन्त्री शाक्यले प्रदेश सरकारले पार्टीमा कार्यकर्ता बढाउनका लागि मुख्यमन्त्री राजेन्द्र पाण्डेले ५ लाख रुपैयाँको योजना वितरण गरेको बताउनुभयो । सोमबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख प्रतिपक्षी दल एमालेकी संसदीय दलकी नेतृ शाक्यले सदनबाट बहुमतले पास गरेको बजेट रकमान्तर गरी संविधान र कानुनभन्दा बाहिर गएर सरकारले काम गरेको टिप्पणी गर्नुभयो । उहाँले सरकार संविधान अनुसार नभएर स्वेच्छाचारी ढंगबाट अगाडि बढिरहेको बताउनुभयो ।
यस्तै पूर्व मुख्यमन्त्री शाक्यले सरकार जवाफदेही र पारदर्शी नभएको आरोप समेत लगाउनुभयो । सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषयमा प्रतिपक्षीसँग सहमति नगरी बजेट नकटाउन उहाँले आग्रह गर्नुभयो । अघिल्लो सरकारले गरेको राजनीति नियुक्त खारेज नगर्न र कर्मचारीलाई दबाब दिएर राजीनामा दिन नलगाउन समेत उहाँले सरकारलाई सुझाव दिनुभयो ।
बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले महालेखापरीक्षक र मुख्य न्याधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । यसैबीच सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक चैत्र ८ गते सम्मको लागि स्थगित गर्नुभएको छ ।