विद्युतीय बस र सुरुङका लागि छुट्याइएको बजेट जनहितमा खर्च हुन्छः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
२९ फाल्गुन २०७८, आईतवार १७:४२

२९ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले यस अघिको प्रदेश सरकारले चाहिने काममा बजेट नछुट्याएको आरोप लगाउनु भएको छ ।
आईतवार प्रदेशसभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनु भएको हो । उहाँले सुरुङ जस्तो राष्ट्रिय गौरवको योजनामा जम्मा ७५ करोडको बजेट राखेको तर नर्माण शुरु गरेदेखि सम्पन्न गर्ने बेलासम्म झन्डै २४ अर्ब लाग्ने स्थिति रहेको बताउनु भयो । उहाँले सुरुङ र सडक निर्माणका लागि विदेशी बैंकहरुले ऋण दिन इच्छुक रहेको बताउँदै तत्काल नबन्ने काममा सानो बजेट छुट्याएर बजेट फ्रिज गर्न नमिल्ने बताउनु भयो । उहाँले चार्जिङ स्टेशन नबनीकन र सडक विद्युतीय बस चलाउन लायकको नभइकन विद्युतीय बसका लागि छुट्याइएको बजेट अन्य जनहितका काममा खर्च गरिने घोषणा गर्नुभयो । मुख्यमन्त्री पाण्डेले अघिल्लो सरकारले विद्युतीय बस र सुरुङका लागि छुट्याइएको बजेट अहिलेसम्म खर्च नभएको पनि बताउनु भयो ।
मुख्यमन्त्री पाण्डेले मन्त्रालयलाई व्यवस्थित गर्नसके जनताको धेरै काम सहज हुने र चाँडो हुने र सोही उद्देश्यका साथ मन्त्रालयको संख्या बढाएर १४ पु¥याएको बताउनु भयो । उहाँले हाल १५ लाख नागरिक सवारी चालक अनुमति पत्र लिने लाइनमा रहेको र अब प्रदेश सरकारले त्यसलाई चाँडो सक्नको लागि ट्रायल सेन्टर बढाउने कार्यविधि पास गरेको बताउनु भयो । मुख्यमन्त्री पाण्डले अहिले विज्ञान र प्रविधिको समय भएको उल्लेख गर्दै सवारी साधनहरुमा क्यासलेस सिस्टमको विकास गर्न आवश्यक रहेको र सोही दिशातर्फ प्रदेश सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले चालक सहचालकहरुको जागिर असुरक्षित भएको भन्दै प्रदेश सरकारले अब उनीहरुलाई पनि सम्मानित कर्मचारीको हैसियतमा रहेर काम गर्ने स्थिति बनाउन लागेको बताउनु भयो ।
मुख्यमन्त्री पाण्डेले यस आर्थिक वर्षमा अहिलेसम्म २० प्रतिशत बजेट मात्रै खर्च हुन सकेको भन्दै अब विकासका कार्यक्रम धमाधम शुरु हुने प्रतिवद्धता जनाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*