एमसीसी अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगियोः प्रचण्ड
१६ फागुन, काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताउनुभएको छ ।
निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताउनुभएको हो । प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले व्याख्यात्मक घोषणाले पनि कानूनी मान्यता प्राप्त गरेको अध्यक्ष दाहालले बताउनुभयो । १२ बूँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएपश्चात नेपाली समाज विभाजन हुनबाट पनि बचेको उहाँले उल्लेख गर्नुभयो । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीतिदेखि कानून र सुरक्षा प्रणालीप्रति नेपालीहरुको अडानपनि स्थापित भएको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले एमसीसीको विषयमा राष्ट्रिय सहमती जुटाउनका लागि आफूले पटक–पटक प्रयास गरेको भएपनि सफल हुन नसकेको बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का कारण एमसीसीमा राष्ट्रिय सहमती कायम गर्न नसकिएको उहाँले आरोप लगाउनुभयो । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट निवासमै गएर सघाउन आग्रह गरेपनि सभामुखको राजिनामा र एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त नभइकन सघाउन नसक्ने वचन दिएका कारण सहमती जुट्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले एमसीसीको विषय ठिक ढंगले समाधान गर्न नसकेको भए शान्ति सम्झौता समेत दुर्घटनामा पर्ने खतरा रहेको औँल्याउनुभयो । गठबन्धन भत्किने मात्रै नभइ राजनीतिक परिवर्तन समेत उल्टिने खतराको चित्र आफूले देखेका कारण एमसीसी अनुमोदन गर्ने ठाउँमा पुगिएको अध्यक्ष दाहालको भनाई छ ।
अध्यक्ष दाहालले माओवादी केन्द्र सडक आन्दोलनमा जानुको उपलब्धि नै व्याख्यात्मक घोषणा गर्न सकिएको जिकिर गर्नुभयो । माओवादीको आन्दोलनका कारण अमेरिका र सत्तारुढ नेपाली कांग्रेस पनि व्याख्यात्मक घोषणाका लागि सकारात्मक भएको उहाँले दाबी गर्नुभयो । नेपाली जनताले देखाएको पहलकदमीका कारण पनि समस्या समाधानमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले एमसीसी अनुमोदनको विषयलाई लिएर पार्टीभित्र विमती रहेको स्वीकार गर्नुभयो । पार्टीका नेता नारायणकाजी श्रेष्ठ एमसीसी अनुमोदनको विपक्षमा रहेको भन्दै अध्यक्ष दाहालले असन्तुष्टि बाहिर नराखी केन्द्रीय कमिटी बैठकमा राख्न आफूले अनुरोध गरेपनि बाहीर कुरा राखेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । एमसीसीको विपक्षमा अभिव्यक्ति दिदैँ आएका नेता देव गुरुङ भने पार्टीको निर्णय कार्यान्वयनमै सक्रियतापूर्वक लाग्नुभएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाको निम्ति बनेको वर्तमान सत्तारुढ गठबन्धन कायम रहने, सरकार बच्ने र यही सरकारले निर्वाचन गराउने स्पष्ट पार्नुभयो ।