नेपालको विश्वकप खेल्ने सपना अधुरो, निर्णायक खेलमा यूएईसंग ६८ रनले पराजित
१० फागुन, हेटौँडा । नेपाल अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।
मंगलबार भएको निर्णायक खेलमा यूएईसंग ६८ रनले पराजित हुँदै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहन पुगेको हो । यसअघि नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रनमै समेटिन पुग्यो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । युएईका अहमद राजाले सर्वाधिक ५ विकेट लिँदा जुनैद सिद्दीकीले तीन तथा रोहन मुस्तफा र जहुर खानले एक–एक विकेट लिए ।
त्यसअघि, ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । उसका लागि मोहम्मद वसीमले सर्वाधिक ७० रन जोड्दा, भ्रित्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७, जवार फरिदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।नेपालका जितेन्द्र मुखिया र अभिनाश बोहराले तीन–तीन तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । जितसँगै युएईले १६ अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्नेछ ।