एमसीसीले विद्युत र सडक मार्फत् नेपालको गरिबी हटाउन मद्दत पुग्नेः रामचन्द्र पौडेल
९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्नुभएको छ ।
वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ता पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताउनुभयो । एमसीसीको समस्या जटिल रुपमा आएको भन्दै उहाँले भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो । एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उहाँको भनाई छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसी बारे निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेश भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का नेताहरुसँग पनि कुरा गर्ने बताउनुभयो । उहाँले देशमा संकट नगहिरियोस् भन्नका लागि आफु प्रयत्नशील रहेको बताउनुभयो ।
उहाँले एमसीसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकि सरकारले गरेको सहयोग भएको बताउनुभयो । एमसीसीले विद्युत र सडक मार्फत् नेपालको गरिबी हटाउन मद्दत पु¥याउने उहाँको भनाई छ ।
एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रको ध्यान संसदतर्फ केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।