एमसीसी संसदमा टेबल, अर्को बैठक फागुन १२ गते बस्ने
८ फागुन, काठमाडौँ । अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो । २०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण एमसीसी अुनमोदन प्रक्रिया अघि बढ्न सकेन । आइतबार एमसीसी परियोजना टेबल हुँदै गर्दा आन्दोलनमा रहेको एमाले भने प्रक्रियामा सहभागी भएन । एमालेका सांसद भीम रावल चाहिं छलफलमा सहभागी भएर अनुमोदनका लागि संसदमा लैजाने सरकारको निर्णयको विरुद्धमा बोल्नुभएको थियो । आइतबार बिहान सत्तारुढ चार दलका शीर्ष चार नेताहरुबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिने सहमति भएको थियो ।
संसद्मा एमसीसी टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सभामुख सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।