चुनाव सम्पन्न गरी शासन प्रणालीलाई सुदुढ तुल्याउनेः प्रधानमन्त्री देउवा
७ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनु पर्नेमा जोड दिनुभएको हो । प्रधानमन्त्री देउवाले जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना रहेको दाबी गर्नुभयो । उहाँले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको बताउनुभयो । प्रधानमन्त्री देउवाले मुलुकले युगान्तकारी राजनीतिक परिवर्तन गरेको र अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गर्नुभयो । स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढिकरण गरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री देउवासहित राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो ।