सत्ताधारी दलहरुबीच सहमति नजुट्दा एमसीसी टेबल हुन सकेन
६ फागुन, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू रोष्टम अगाडि उभिएर नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आगामी आइतबार फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । सत्ताधारी दलहरुबीच सहमति नबनेपछि शुक्रबारको बैठकमा पनि एमसीसी पेश हुन सकेन ।
यसैबीच बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारीत गर्न नदिने बताउनुभयो । एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उहाँले बताउनुभयो ।
त्यस्तै सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा.शशांक काईरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको प्रतिक्रिया दिनुभयो । सांसद कोईरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबी समेत गर्नुभयो ।
सांसद कोईरालाले अमेरिकाले सदने एमसीसी परियोजनाको सहयोग आजसम्म कुनै देशले नदिएको र यसमा अमेरिकाको कुनै स्वार्थ नरहेको समेत दाबी गर्नुभयो ।