बुधबारको संसद बैठकमा एमसीसी पेश हुनेमा प्रधानमन्त्री देउवा विश्वस्त

स्वर्णिम खबर
३ फाल्गुन २०७८, मंगलवार १६:१८

३ फागुन, हेटौँडा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार बस्ने संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनु भएको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताउनु भएको हो । उहाँले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताउनु भएको जानकारी दिनुभयो । उहाँले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै तत्कालीन नेकपा सरकार रहँदा मन्त्रीपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिनुभएको बताउनु भयो ।
यस्तै पूर्वअर्थमन्त्री एवम् कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हीतमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभएको छ । नेता महतले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप लगाउनु भयो । उहाँले बीआरआई र इण्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो । नेता महतले एमसीसी सहयोग कुनै पनि मुलुकको हीत विपरित नभएको दाबी समेत गर्नुभयो ।
यस्तै पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएकी नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*