प्रधानन्यायाधीशलाई बोकेर हिँड्ने एमालेको मनशाय छैनः अध्यक्ष ओली

स्वर्णिम खबर
२ फाल्गुन २०७८, सोमबार १६:४४

२ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग स्थानीय तह निर्वाचनलाई सार्नको लागि ल्याइएको बताउनुभएको छ ।
सोमबार बसेको एमालेको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरामाथि सत्तारुढ गठबन्धनले महाअभियोग लगाएर स्थानीय तहको निर्वाचन सार्न खोजेको बताउनुभएको हो । उहाँले प्रधानन्यायाधीशलाई बोकेर हिँड्ने आफ्नो पार्टीको मनशाय नभएको बताएको प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिनुभयो । अदालतलाई अस्थिर बनाई निर्वाचन सार्ने प्रयोजनले महाअभियोग लगाइएको एमालेको ठहर रहेको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । त्यस्तै सत्तारुढ गठबन्धनले एमसीसी परियोजना संसदबाट पारित गर्नका लागि पनि महाअभियोगको अस्त्र ल्याएको प्रमुख सचेतक भट्टराईले उल्लेख गर्नुभयो ।
प्रमुख सचेतक भट्टराईले एमसीसी परियोजनाको सम्बन्धमा सत्तारुढ गठबन्धनको एउटै धारणा नआएसम्म एमाले ‘पर्ख र हेर’को रणनीतिमा रहेको स्पष्ट पार्नुभयो । पार्टीले आवश्यक परेको बेलामा देश र जनताको पक्षमा आवश्यक निर्णय लिने उहाँले बताउनुभयो ।
उहाँले एमालेले न्यायाधीश र सभामुखमाथि महाअभियोग प्रस्ताव ल्याउने भनेर अनुमानको भरमा समाचार सम्प्रेषण गरिएको बताउनुभयो । यी विषयको सम्बन्धमा पार्टीको उच्च तहका नेताहरु बसेर यथोचित समयमा निर्णय लिइने पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले अदालतमा भइरहेको बेथिति स्वतन्त्र न्यायपालिकाको पक्षधरहरुका लागि स्वीकार्य नहुने भन्दै आवश्यक पर्दा अदालतबाटै पनि गलत क्रियाकलापको विरुद्धमा अगाडी बढ्ने बताउनुभयो ।
संसदीय दलको बैठकमा सांसदहरु भीम रावल, घनश्याम भुसाल, महेश बस्नेत, गोकुल बास्कोटा, झपट रावल, विमला विश्वकर्मा लगायतले पनि आफ्नो धारणा राख्नुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो । उहाँले सांसदहरुलाई हस्ताक्षर गराएर राखिएको भन्दै आवश्यक पर्दा उच्च तहका नेताहरुको निर्णयको आधारमा सो हस्ताक्षरको प्रयोग हुनेपनि बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*