न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव ल्याउन मिल्दैनः रामचन्द्र पौडेल
२ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गर्नु भएको छ ।
सत्तारुढ प्रमुख घटक काँग्रेसका वरिष्ठ नेता पौडेलले एमालेले संसद विघटनको मुद्धामा आफूलाई हराएवापत् सर्वोच्च अदालतको निर्णय विपरित सो महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गर्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौति दिनेगरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताउनु भयो । वरिष्ठ नेता पौडेलले सो प्रस्ताव एमालेले ल्याए सभामुख अग्नीप्रसाद सापकोटाले संसदबाट अस्विकार गरिदिने दावी समेत गर्नु भयो । संसद विघटनको मुद्धामा आफू हार्ने अनि सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग लगाउने कुरा सरासर गलत हुने उहाँको भनाई थियो ।
काँग्रेस वरिष्ठ नेता पौडेलले जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याएको दावी गर्नु भयो । उहाँले यो प्रस्तावसँगै अव सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वास समेत व्यक्त गर्नु भयो । वरिष्ठ नेता पौडेलले संवैधानिक बाटोबाटै आफू हट्ने प्रधानन्यायाधीश जबराको आकांक्षालाई पनि सत्तारुढ दलहरुले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावले सघाउ पु¥याएको बताउनु भयो ।
वरिष्ठ नेता पौडेलले आफूले प्रधानन्यायाधीश जबरालाई सम्मानजनक बर्हिगमनका लागि राजीनामा दिन पटकपटक सुझाएको पनि स्मरण गराउनु भयो ।