अमेरिकाले एमसीसीको नाममा खसी देखाएर फर्सी भिडाउन खोज्दै छः चित्रबहादुर केसी
२६ माघ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसि देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाउनु भएको छ ।
बुधवार माईतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनु भएको हो । अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताउनु भयो । उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाउनु भयो । अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताउनु भयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनु भएको छ । उहाँले गठबन्धन नेपाली काँग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।अध्यक्ष केसीले दुई वर्ष यता मधेशमा सरकारले महंगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताउनु भयो । उहाँले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएकोसमेत बताउनु भयो । उहाँले नेपाल अहिले विदेशीहरुको लुटको अखडा भएको आरोप समेत लगाउनु भयो । अध्यक्ष केसीले अहिले सरकारमा भागवण्डाको काम मात्रै भइरहेको बताउँदै देशक र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्कहरुको हातमा सुम्पिएको बताउनु भयो । उहाँले नेपालमा चुनाव माफिया र दलालीहरुको मात्रै भएको आरोपसमेत लगाउनु भयो । अध्यक्ष केसीले देश अहिले गम्भीर शंकटोन्मुख रहेको भन्दै त्यसलाई जनताले सडकमा आएर जोगाउनु पर्ने बताउनु भयो । उहाँले नेपाल पनि अहिले अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको बताउनु भयो । उहाँले संसदमा रहेका सांसदहरुलाई एमसीसी अस्वीकार गरेर देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई जोगाउनु पर्ने बेला आएको उल्लेख गर्नुभयो ।अध्यक्ष कसीले अमेरिकी साम्राज्यवादले जबरजस्ती एमसीसी बोकाएर नेपालमा आफ्नो रोटी सेक्ने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाउनु भयो ।