तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सकिनेः निर्वाचन आयोग
२६ माघ, हेटौँडा । निर्वाचन आयोगले सरकारको तोकेको समयमा निर्वाचन सम्पन्न गर्न सक्ने जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम पौडेले सरकारले तोकेको २०७९ बैशाख ३० गते निर्वाचन सम्पन्न गर्न सक्ने बताउनुभयो । प्रवक्ता पौडेलले आयोगले सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा निर्वाचन गर्न सकिने गरी प्रधानमन्त्री समक्ष मिति प्रस्ताव गरिएको जानकारी दिनुभयो । निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नेगरी आयोग अगाडी बढिरहेको उहाँले बताउनुभयो । उहाँले निर्वाचनका लागि जनशक्तिको समस्या नभएको पनि दाबी गर्नुभयो । निर्वाचन सम्बन्धी कानूनी व्यवस्थाका आधारमा विभिन्न निकायबाट कर्मचारी परिचालन गर्न सकिने उहाँले बताउनुभयो । प्रवक्ता पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने बताउनुभयो । आयोगले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा अब केवल ९०, ९५ दिन मात्रै आयोगसँग भएकाले सबै कामहरु फाष्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने उहाँले बताउनुभयो । सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्था लगायतका कारणले निर्वाचनमा खर्च बढ्नेभएको उहाँले उल्लेख गर्नुभयो । आयोग अहिले स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ ।