ओमिक्रोनको संक्रमणदर घट्दैः स्वास्थ्य मन्त्रालय
२१ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिनुभएको हो । उहाँले पहिले एक जना मान्छेमा भएको भाईरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पार्नु भयो । प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपालमा परेको तथ्य पनि स्मरण गराउनु भयो । उहाँले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराउनु भयो । यस्तै मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताउनु भयो । उहाँका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था भएको र हुँदै गएको बताउनु भयो । त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून भनेर सरकारले नागरिकता लगायतका डकुमेन्टहरु नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पार्नु भयो । मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ ।