अर्थ समितिमा सिलवाल र शिक्षा समितिमा पोखरेल निर्वाचित
१७ माघ, हेटौँडा । बागमती प्रदेशको अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित भएका दुवै जना प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद् हुन् । निर्वाचन प्रक्रियामा एमालेको मात्र सहभागी भएपछि सिलवाल र पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन । अर्थ र शिक्षा समितिको वैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उनीहरू दुवैलाई विजयी घोषणा गरिएको थियो । उनीहरू दुबै जनालाई सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराउनुभएको थियो । वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्येबाट सिलवाल सभापति चयन भएका हुन् । शिक्षा समितिका १९ जना सदस्यमध्येबाट पोखरेल सभापतिमा चयन भएका हुन् ।