ओलावा पेनाल्टीमा चुक्दा एपीएफले रारा गोल्डकपको उपाधि उचाल्यो
१५ माघ, हेटौँडा । आहा–रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ ।
शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मसर््याङ्दी क्लबलाई टाईब्रेकरमा हराउँदै एपीएफले पहिलो पटक रारा गोल्डकपको उपाधि जितेको हो । खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् । मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए । घरेलु टिममा मनाङको पहिलो गोलसँगै रंगशालामा समर्थकको चर्को हुटिङ सुनियो । त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । यस्तै अतिरिक्त समयमा पनि खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । पेनाल्टी सुटआउटमा ओलावाले असफल भएपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित हुन पुग्यो । उनको प्रहारलाई एपीएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए । एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम टाइब्रेकरमा सफल बने । मनाङका फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरे । यो जितसँगै एपीएफले उपाधि सहित १० लाख रुपैयाँ हात पारेको छ भने उपविजेता मनाङले ५ लाख रुपैयाँमा प्राप्त गरेको छ ।