बागमतीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका दुबै उम्मेदवार बिजयी
१२ माघ, हेटौँडा । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बुधबार सम्पन्न मतगणनामा बागमतीको रिक्त २ पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । तिमल्सिना र पौडेलले क्रमश ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाकी उम्मेदवार गिता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् । स्थानिय तह अन्तर्गत २३७ मध्ये महिला तर्फको उम्मेदवार तिमल्सिनाले ११६ मत र कुँवरले ११७ मत पाएका हुन् । त्यसैगरी गीता काफ्लेले २ मत पाइन भने बाँकी २ मत बदर भएको हो । यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार पौडेलले २३७ मत मध्ये ११७ मत र शाक्यले ११६ मत प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेका छन् भने बाँकी २ मत बदर भएको हो । प्रदेशसभाका कूल १०९ जना मध्ये १०६ जना मात्रै मतदान प्रक्रियामा सहभागि भएका थिए । जसमध्ये तिमल्सिनाले ५७ मत र कुँवरले ४७ मत पाउँदा काफ्लेले २ मत प्राप्त गरेकी छिन् । प्रदेशसभा अन्तरगत अन्य सदस्य पदका पौडेलले ५६ मत र शाक्यले ४७ मत प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार तामाङले २ मत प्राप्त गरेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा बागमती प्रदेशका १ सय ९ सांसद र १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।