दुर्घटनाका घाइतेको उपचारका लागि उपकरण सहयोग
१६ पुस, हेटौंडा । सवारी दुर्घटनाका घाइतेहरुको प्राथमिक उपचारका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ ।
मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा बागमती प्रदेशका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग सामग्री सहयोग गरेको छ । उपकरण सहयोगका लागि ५० लाख रुपैंया बजेट विनियोजन भएको केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । निर्देशनालयले प्यासेन्ट मोनिटर, अक्सिजन कन्सर्नट्रेटर, इसिजि मेसिन, व्हिल चियर, बेड, स्टेचर, अक्सिमिटर लगायतका उपकरण सहयोग गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, निक साइमण्ड इष्टिच्युटका कार्यकारी अधिकृत अनिलबहादुर श्रेष्ठ, विभिन्न स्थानीय तहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।