सभामुखले गल्ती सच्याउनुपर्छ वा राजीनामा दिनुपर्छः महासचिव पोखरेल

स्वर्णिम खबर
२ पुष २०७८, शुक्रबार १७:०२

२ पुस, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदको गतिरोध हटाउन सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गर्नुभयो । पार्टीले कारबाही गरेका सांसदहरुको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेको महासचिव पोखरेलले आरोप लगाउनुभयो । संसद् बैठकमा जारी अवरोध हटाउन सत्ता पक्षले नै भूमिका खेल्नुपर्ने उहाँको धारणा थियो । महासचिव पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदको अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि विजनेस संसदमा प्रवेश गर्न नसक्ने बताउनु भयो । महासचिव पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको टिप्पणी गर्नुभयो । नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उहाँलाई जिम्मेवारी दिने पनि उहाँले स्पष्ट पार्नु भयो । उहाँले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गर्नु भयो । महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको बताउनु भएको हो । पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भएपनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बूँदे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*