राजनीतिक पूँजी बचाईराख्न मन्त्री पदबाट राजीनामा दिएः मिनेन्द्र रिजाल
१ पुस, काठमाडौँ । रक्षामन्त्री मिनेन्द्र रिजालले भावावेशमा नभई राजनीतिक पूँजी बचाईराख्न मन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पार्नुभएको छ ।
पार्टीको १४ औ महाधिवेशमा महामन्त्री पदमा पराजित भएपछि मन्त्री रिजालले विहिबार अपरान्ह रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री पदबाट राजीनामा गरेको जानकारी गराउनुभएको हो । उहाँले लामो राजनीतिक जिवनबाट आर्जन गरेको सम्पत्ति “राजनीतिक पूँजी” बचाईराख्न रक्षामन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पार्नुभयो । उहाँले भावावेशमा नभई राजनीतिक सम्पत्ति गुमाएँ कि भन्ने लागेर आफुले राजीनामा गरेको बताउनुभयो । आफु राजनीतिमा हारेको वा थाकेको सिपाही नभई दृढ निश्चयका साथ अघि बढ्न सक्ने आत्मविश्वासका साथ उभिएको पनि उहाँले बताउनुभयो । आफुले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो । महामन्त्रीमा उम्मेदवारी दिदै गर्दा पराजित हुनुपरेपनि आफु भन्दा सक्षम र सबैले पत्याएको मान्छे छोडेर जानेमा आफु ढुक्क भएको भन्दै उहाँले पार्टी अझै सक्रियताका साथ अघि बढोस् भन्ने कामना आफ्नो रहेको बताउनुभयो । उहाँले पार्टीले चित्तबुझ्दो जिम्मेबारी नदिए राजनीतिबाटै अलग हुन सक्ने संकेत गर्नुभयो । संचारकर्मीको जिज्ञासामा उहाँले सक्रिय राजनीतिबाट अलग हुने निर्णयमा आफु पुगिनसकेको भएपनि त्यो संभावनालाई पनि ननकार्ने बताउनुभयो । मन्त्री रिजालले आफ्नो राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाएपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको हो ।