एमालेले संसद् अवरोध गर्नु संविधान सम्मत् छैनः सभामुख सापकोटा
२७ मंसिर, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताउनुभएको छ ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताउनुभयो । उहाँले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताउनुभयो । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उहाँले बताउनुभयो । सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गर्नुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताउनुभयो । उहाँले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताउनुभयो । मंगलबारदेखि संसद अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गर्नुभएको छ । संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टीजेन परिक्षण भइरहेको पनि जानकारी दिएको छ ।