१४ वर्षीया कुसुम खड्का बनिन् एकदिनको वडा अध्यक्ष

स्वर्णिम खबर
२१ मंसिर २०७८, मंगलवार १८:१७

२१ मंसिर, हेटौँडा । १४ वर्षिया कुसुम खड्का आज एक दिनका लागि हेटौंडा उपमहानगरपालिका, वडा नम्बर १८ को वडा अध्यक्ष बनेकी छिन् ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शपथ गराई मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खड्कालाई एक दिनका लागि वडाअध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । सोही विद्यालयका विद्यार्थीहरू रीभा बानियाँ, सृष्टि विक, रजल श्रेष्ठ र सौगात घोरासैनीलाई वडा सदस्यको जिम्मेवारी दिइएको थियो । खड्कालाई शपथ ग्रहण गराइसकेपछि मेयर महतले यो विशेष कार्यक्रमको थालनी गरेकोमा १८ नम्बर वडाका निर्वाचित वडाअध्यक्ष अनिल बानियाँको प्रशंसा गरेका थिए । बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकासका साथसाथै स्थानीय सरकारले गर्ने कामका बारेमा वास्तविक अभ्यास भएकोमा महतले खुशी व्यक्त गर्नुभएको थियो । विशेष गरी बालबालिका तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो एक दिनको कार्यकालमा केही गर्ने बताएकी खड्काले वडा कार्यालयले प्रवाह गरिरहेको सेवा महिला तथा ज्येष्ठ नागरिक एवम् अपाङ्गमैत्री भए नभएको बारेमा कर्मचारीहरूसँग जानकारी लिइन् । साथै सुझाव पेटिका तथा नागरिक बडापत्र सबैले देख्ने गरी कार्यालय भवन बाहिरै राख्न सुझाव दिइन् ।

खड्का सहितको एक दिनको वडा कार्यसमितिले हर्नामाडीस्थित स्वास्थ्यचौकी तथा प्रहरी चौकीको समेत अनुगमन गरेको थियो । खड्काले मंगलबार नै महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला जागरण समुह हर्नामाडीले आयोजना गरेको जनचेतनामूलक कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन् ।आफ्नो एक दिने कार्यकालको अन्त्यमा खड्कासहितको वडा समितिले वडा भित्रका सरकारी कार्यालयहरूमा सुझाव पेटिका अनिवार्य राख्ने, वडा कार्यालयलाई अपाङ्ग तथा ज्येष्ठ नागरिक मैत्री बनाउने तथा वडाभित्र कम उमेरमा हुने गरेको बिबाहलाई रोकथाम गर्न जनचेतनामूलक कार्यक्रमहरू वडा कार्यालयको पहलमा अघि बढाउने निर्णय गरेको छ । एक दिनको कार्यभार पूरा गरेपछि खुशी व्यक्त गर्दै खड्काले आफूहरूले पाएको अवसर वडाका अन्य बालबालिकाले पनि पाउनुपर्ने बताइन् । यसले आफूलाई जिम्मेवार नागरिक भएको बोध गराएको भन्दै यस्ता कार्यक्रमले वास्तवमै बालबालिकालाई सामाजिक रुपमा उत्तरदायी बनाउने समेत बताइन् । वडाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाको नेतृत्व विकास गराउन र राजनीतिमा सक्षम युवा नेतृत्वलाई अगाडी बढाउन यस किसिमको कार्यक्रमलाई वडाले अगाडी सारेको निर्वाचित वडाध्यक्ष बानियाँको भनाई छ । बानियाँले वडाले आफ्नै पहलमा यो कार्यक्रम गरिएको बताउँदै अन्य विद्यालयका बालबालिकालाई पनि क्रमशः सहभागी गराउँदै यस किसिमको कार्यक्रममाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*