वर्तमान सरकारबाट मुलुक चल्न सक्दैन, ताजा जनादेशमा जानुपर्छः ओली
१७ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताउनु भएको छ ।
शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रिय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताउनु भएको हो । उहाँले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारले लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पु¥याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले सत्तारुढ केही दलको काम बिगार्ने र भत्काउनेबाहेक अरु केही नभएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले आगामी मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने अडान दोहो¥याउनु भयो । राष्ट्रपति विद्या भण्डारीले आगामी मंसीर २८ गते संघीय संसद बैठक आह्वान गर्नु भएको छ । तर त्यो बैठक पनि चल्न नदिने अध्यक्ष ओलीले चेतावनी दिनु भयो । उहाँले आफ्नो पार्टीले निश्कासन गरेका माधव नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न दिन नसक्ने तर्क समेत गर्नु भयो । उनीहरु गैर सांसद भएकाले उनीहरु आएको संसद बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले आफ्नो पार्टीको दशौं महाधिवेशन अत्यन्तै सफलताका साथ सम्पन्न भएको दावी समेत गर्नु भयो ।