राजनीतिक दलहरुलाई लोकतान्त्रिकरण गर्नु जरुरीः रामचन्द्र पौडेल
१२ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको बताउनुभएको छ ।
आइतवार काठमाडौंमा आफुद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो(रुपान्तरणको दस सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको औँल्याउनुभएको हो । कांग्रेस संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफु अनुकुल गरिरहेको भन्दै उहाँले आन्तरिक लोकतन्त्रको लागि खतरा महशुस गरेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरुलाई लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । राजनीतिक दलका कारण निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उहाँले राजनीतिक दलहरुलाई निमुखा जनताको पहरेदार बनाउनुपर्ने बताउनुभयो । दलको सदस्यलाई विशेष सहुलियत दिने तर निमुखा जनताको अधिकार कुण्ठित गरीने अवस्था रहनु चिन्ताको विषय भएको उहाँको भनाई छ । वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियाबाटै निर्वाचित भएर सत्तामा पुग्ने व्यक्तिको असिमित महत्वांकांक्षाले लोकतन्त्रमाथि नै संकट पैदा हुने खतरा रहेकाले यस्तो प्रवृतिबाट लोकतन्त्र जोगाउने प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।