ओलीको प्रश्नः कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदुषण हटला ?
७ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि ठूलो प्रश्न उठेकोले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखेको तर्क थियो । पूर्व प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति संकेत गर्दै कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदुषण हटाला ? भनि सम्पादकहरुसामू नै प्रश्न उठाउनु भयो । उहाँले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । यस्तै अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाउनु भएको प्रतिक्रिया समेत दिनुभयो । उहाँले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले पार्टीका नेताहरुको व्यवस्थापनमा आफूले ध्यान नदिने बताउनु भयो । देश र जनताको व्यवस्थापनमा आफूहरुको ध्यान जाने अध्यक्ष ओलीको भनाई थियो । उहाँले सर्वसम्मति वा सबैभन्दा बढि मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढि मन पराउने बताउनु भयो ।