सत्यको पक्षमा पहलकदमी लिन्छुः सभामुख सापकोटा
६ मंसिर, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भिर हुनुपर्ने बताउनुभएको छ ।
सोमबार नेपाल बार एशोसिएसनको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिका भित्र देखिएका समस्याको सहज र स्वभाविक निकास निकाल्नका लागि सम्बद्ध पक्ष गम्भिर हुनुपर्ने बताउनुभएको हो । उहाँले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै उहाँले न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले न्यायपालिकामा के कामले गर्दा समस्या गहिरिदै गएको हो भन्ने सम्बन्धमा आफूले चिन्तन गरीरहेको पनि उल्लेख गर्नुभयो । सभामुख सापकोटाले न्यायपालिकाको समस्या समाधानका लागि आफ्नो विवेक र चेतनाले निर्देशित गरे अनुसार लाग्ने बताउनुभयो । आफूलाई सत्य के हो भन्ने लाग्छ सोही अनुसार सत्यको पक्षमा पहलकदमी लिने उहाँको भनाई छ । प्रधानन्यायाधीश जबरामाथि लागेको आरोपसहित बारले सभामुख सापकोटा र विभिन्न दलका नेताहरुलाई ज्ञापनपत्र बुझाई अप्रत्यक्ष रुपमा महाभियोगको प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो ।