आन्दोलनरत पक्षलाई संवादमा आउन प्रधानन्यायाधीश जबराको आह्वान

स्वर्णिम खबर
२९ कार्तिक २०७८, सोमबार १६:२८

२९ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गर्नु भएको छ ।
नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले राजीनामा दिन चर्को दवाव दिँदै आफूविरुद्ध आन्दोलन चर्काइरहेका बेला प्रधानन्यायाधीश जबराले गतिरोधहरुको अन्त्यका लागि उपयुक्त विकल्प संवादमा आउन आह्वान गर्नु भएको हो । प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो सचिवालयमार्फत् सार्वजनिक गर्नु भएको प्रेस विज्ञप्तीमा न्यायालयमा देखिएको गतिरोधहरुको अन्त्यका लागि संवादमा आउन आन्दोलनरत नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलगायतका बार इकाईहरुलाई आह्वान गर्नु भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनु भयो । उहाँले न्यायालयको संस्थागत सुधार र सवलीकरणका लागि हालसालै भएको संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव र न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयम्ले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयनका लागि अग्रसरता लिन पनि प्रधानन्यायाधीश जबराले आफू सधैं प्रतिवद्ध रहेको बिज्ञप्तीमा उल्लेख गर्नु भएको बताउनु भयो । प्रधानन्यायाधीश जबराले संविधानको सफल कार्यान्वयनका लागि राज्यका सबै अंगसहित राज्यको सम्पूर्ण निकायहरु एकतावद्ध हुनुपर्ने बेलामा सर्वोच्च न्यायिक अंग र यसको प्रमुख आफूमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भईरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भएको छ । प्रधानन्यायाधीश जबराले यस बीचका घटनाक्रमले न्यायपालिकाको पवित्रता, गरिमा एवम् न्यायिक सर्वोच्चताको महान विरासतमाथि प्रश्न उठेको स्विकार गर्दै त्यसलाई हल गर्न सम्वद्ध सरोकारवाला पक्षसँग आफूले हृदयको गहिराईबाट तत्काल संवाद गर्न चाहेको पनि स्पष्ट पार्नु भयो । विज्ञप्तीमा उहाँले नेपाल बार एशोसिएशन र न्यायालयबीच टुटेको सम्बन्ध जोडन सकिने पनि उल्लेख गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*