राष्ट्रपति भवनबाट शुरु भयो राष्ट्रिय जनगणना २०७८
२५ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गर्नुभएको छ ।
बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गर्नुभएको हो । आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिनुभएको थियो । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधवार बिहान राष्ट्रपति निवासमा पुग्नुभएको थियो । जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता ’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।