बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत

स्वर्णिम खबर
२२ कार्तिक २०७८, सोमबार १९:०८

२२ कात्तिक, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।
सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुनु । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गर्नुभएको थियो । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ । सोमबार भएको मत विभाजनमा प्रदेश सभामा कायम सदस्य संख्याको बहुमत पुगेकोले विश्वासको मत प्राप्त भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गर्नुभयो । मुख्यमन्त्री पाण्डेलाई नेकपा (माओवादी केन्द्र)को २३ जना, नेपाली कांग्रेसको २२ जना,नेकपा (एकीकृत समाजवादी)को १३ जना र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका थिए । बिश्वासको मत दिने प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा (एमाले) र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदूर किसान पार्टीका सांसद तटस्थ बसेका थिए । प्रदेश सभाको आजको बैठकमा १०४ जना सांसद उपस्थित थिए । प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*