ओली गणतन्त्र उल्ट्याउन लागि परेको छः प्रचण्ड
१५ कात्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको छ ।
सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको हो । उहाँले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाउनुभएको हो । उहाँले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाउनुभयो । अध्यक्ष दाहालले आफ्नो पार्टीले धेरै राम्रा काम गरेपनि बिक्री गर्न नजानेको बताउनुभयो । उहाँले माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले काठमाडौं उपत्यकाको मुख्य समस्या स्ववासीहरुले लालपूर्जा नपाएको रहेको बताउँदै त्यो समस्या समाधानका लागि माओवादी लागि पर्ने र सम्बन्धित मन्त्रालयलाई पनि खबर गरिएको बताउनुभयो । उहाँले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई भेटेर स्ववासीलाई लालपूर्जा दिने काम तत्काल गर्न आग्रह गरेको बताउनुभयो । अध्यक्ष दाहालले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।