न्यायलयको सम्बन्धमा गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्छः प्रचण्ड
१३ कात्तिक, काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताउनु भएको छ ।
अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको पनि स्पष्ट पार्नु भयो । शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताउनु भयो । अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावी गर्नु भयो । अध्यक्ष दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउनु भयो । हाम्रो संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क थियो । अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमती भईसकेको जानकारी दिनु भयो । उहाँले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाढि बढाउन आफूहरु तयार रहेको बताउनु भयो ।