ओलीको हस्तक्षेपकारी भुमिकाका कारण न्यायालयमा अहिले समस्या देखियोः माधव नेपाल

स्वर्णिम खबर
११ कार्तिक २०७८, बिहीबार १४:०६

११ कात्तिक, काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पार्नुभएको छ ।
बिहीवार पार्टी कामको शिलशिलामा धनगढीमा पुग्नुभएका अध्यक्ष नेपालले समाजवदी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनका दलहरुबिचमा कुनै छलफल नभएको बताउनुभएको हो । उहाँले आफु निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरुपनि व्यस्त रहेका कारण पाँच दलको बैठक समेत बस्न नसकेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आउनुभएको आरोप लगाउनुभयो । ओलीले रिस साँध्नका लागि सबै न्यायाधीसहरुलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको उहाँले बताउनुभयो । ओलीको हस्तक्षेपकारी भुमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उहाँको भनाई छ । ओलीले नै सबैथोक बिगारेको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले एकीकृत समाजवादीले चुनावमा अरु पार्टी सँग गठबन्धन गर्ने पनि बताउनुभयो । वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उहाँले बताउनुभयो । अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श शुरु गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले निर्वाचन आयोगबाट कलम चुनाव चिन्ह पाइसकेको उल्लेख गर्दै हिजोको सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गर्नुभयो । उहाँले न्याय र सत्यको आवाज बुलन्द गर्नका लागि कलम चिन्ह नै जनताले रोज्नुपर्ने अवस्था बनिसकेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*