बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा
१० कात्तिक, हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको छ ।
बागमती प्रदेश सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो । प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) मा भएको व्यवस्था अनुसार मुख्यमन्त्री पदबाट मार्ग प्रशस्त गरेको बताउनुभयो । मुख्यमन्त्री शाक्यले आगामी दिनमा बागमती प्रदेश सभामा मिलेरै अगाडी बढ्नका लागि राजिनामा दिनु नै राम्रो लागेकाले राजिनामा दिएको स्पष्ट पार्नुभयो । नेकपा(एमाले) संसदीय दल, मन्त्रीहरु लगायत सबैको भावना अनुसार आफुले पदबाट मार्ग प्रशस्त गरेको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा एमाले प्रतिपक्षको रुपमा रहेपनि बागमती प्रदेशको विकासका लागि मिलेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । सत्तापक्ष र विपक्ष विचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उहाँले बागमतीलाई नमुना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो कार्यकालमा सबैको सहयोग पाएको भन्दै सहयोग गर्नुहुने सभामुख, उपसभामुख, दलका नेता, प्रदेश सभा सदस्यहरु, सुरक्षा निकाय, कर्मचारी, पत्रकार र संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।बागमती प्रदेश सभाको अर्को बैठक सुचना जारी गरेर बोलाइने सभामुखले जानकारी दिनुभयो ।