बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने प्रधानमन्त्रीको घोषणा
७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनु भएको छ ।
आईतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताउनु भएको हो । उहाँले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताउनुभयो ।प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरुको समेत प्रशंशा गर्नु भयो । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताउनु भयो ।