वासस्थान गुमाएकालाई ५० हजार दिने सरकारको निर्णय

स्वर्णिम खबर
३ कार्तिक २०७८, बुधबार १७:१५

३ कात्तिक, काठमाडौँ । सरकारले गत तीन दिन यता अविरल वर्षाका कारण वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
बुधवार सिंहदरवारमा बसेको विपद् व्यवस्थापन परिषद्को बैठकमा वासस्थन भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.अनिल पोखरेलले बुधवार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताउनुभयो । उहाँले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको बताउनुभयो । प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्याएको स्थानमा आफैँ जाने बताउनुभएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । बैठकमा तत्काल घटना भएका स्थानमा विभिन्न टीमहरु बनाएरु तत्काल वास र गासको व्यवस्था मिलाउने र क्षतिको विवरण निकाले लगत्तै राहत र उद्धार तथा पुनर्निर्माणका लागि खटिने बताउनुभयो । उहाँले बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरुलाई तत्काल राहतको व्यवस्था गरिने बताउनुभयो । कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त श्रोत, साधन नभएकोले धेरै क्षति भएको बताउनुभयो । उहाँले बुधवार मध्यान्हसम्म ५२ जनाको निधन भएको र २० वटा घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक अनुमान रहेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*