पार्टी विभाजनको मुख्य योजनाकार माधव नेपालः अध्यक्ष ओली
१५ असोज, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाउनु भएको छ ।
शुक्रबार पार्टीको विधान अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागत योग्य काम गरेको टिप्पणी समेत गर्नुभयो । पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले पार्टी एकता जोगाउनका लागि अधिकतम लचकताका अपनाएको बताउनुभयो । उहाँले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको दावी समेत गर्नुभयो । यस्तै अध्यक्ष ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले कसैसँग पनि भैरभाव नराख्नू आफ्नो पार्टीको विदेश नीति भएको बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।