एमाले संवाद र वार्ताबाट भाग्न खोज्योः सरकार
१४ असोज, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताउनुभयो । बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दल(नेकपा) एमालेले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले बताउनुभयो । संघीय संसदको दुवै सदनमा जनताको दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरु थन्किएको भन्दै उहाँले अहिले संसदको बैठक आवश्यकता रहेकाले आवश्यकताको महसुस गर्दै आगामी दिनमा बैठकमा उपस्थिति हुने विश्वास व्यक्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सर्वदलीय बैठकमा प्रतिपक्ष दल अनुपस्थिति भएपनि आगामी दिनमा पनि प्रतिपक्ष दलसँग सम्वाद गर्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।